Logo

Breaking News 1

प्राधिकरणलाई एनसेलले फर्कायो २ बुँदे प्रतिवद्धतासहितको जवाफ



काठमाडौं । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ लेखेको छ । मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेकोबारे प्राधिकरणले मंसिर १५ मा लेखेको पत्रको एनसेलले प्रतिवद्धतासहितको जवाफ हिजो पठाएको हो ।

शेयर खरिदबिक्रीबारे एनसेलले गराएको जानकारी पत्रमा २ बुँदा उल्लेख छ । बेलायतको कम्पनीसँग भएगरेका शेयर खरिद बिक्रीसम्बन्धी द्विपक्षीय सम्झौताका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरुबाट संकलन गर्ने काम भइरहेको एनसेलले बताएको छ ।

पत्रमा एनसेलले आफूहरू कानूनको शासनमा विश्वास गर्ने जिकिर गरिएको छ । प्राधिकरणको विनियमावली बमोजिम शेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेश गरिने प्रतिवद्धता पत्रमा जनाइएको छ ।

प्राधिकरणले शुक्रबार एनसेल आजियटालाई पत्र लेखेर शेयर खरिदबिक्रीबारे ध्यानाकर्षण भएको जनाएको थियो ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, एनसेलले त्यस्तो अनुमति नै नलिइ शेयर बिक्री गर्ने तयारी गरेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  १२ : ५५ बजे