Logo

Breaking News 1

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या पन्ध्र हजार नाघ्यो



गाजा । गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजरायली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५ हजार पाँच सय २३ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ । मन्त्रालयका प्रवक्ता असरफ अल–किद्राले पत्रकार सम्मेलनमा स्वास्थ्य सेवाहरू प्रभावित हुँदा प्यालेस्टिनी परिसरमा घाइते मानिसको सङ्ख्या ४१ हजारभन्दा बढी भएको जानकारी दिए ।

उनका अनुसार उत्तरी गाजाका अस्पताल आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न असमर्थ भएकाले सयौँ घाइतेको उपचार अत्यन्त सीमित चिकित्सा उपकरणबाट जमिनमा भइरहेको छ । उनले गाजापट्टीका सबै अस्पतालमा चिकित्सा र शय्या क्षमताभन्दा बढी सेवा प्रवाह गर्नुपर्ने वाध्यताले गम्भीर रोगहरूको उपचार गर्न संसाधनको कमी रहेको बताए ।

घाइतेहरूको उपचार विदेशमा गर्ने अनुमति दिने सुस्त व्यवस्थाको आलोचना गर्दै किद्राले इजराइल–हमास युद्ध सुरु भएपछि चार सय तीन मानिसलाई मात्र उपचारका लागि गाजापट्टी छाड्ने अनुमति दिइएको उल्लेख गरे । चिकित्सा आपूर्ति, औषधि र इन्धनको प्रवाह सुनिश्चित गर्नका लागि सुरक्षित मानवीय मार्गको माग दोहोर्याउँदै उनले घाइते र रोगीहरूलाई सहज उपचारका लागि विदेश जान अनुमति दिन आग्रह गरे ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ८ : ४९ बजे