Logo

Breaking News 1

एकीकृत समाजवादीको महाधिवेशन वैशाखमा सर्ने !



काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको राष्ट्रिय महाधिवेशन वैशाखमा सार्न प्रस्ताव गरेका छन् । पार्टीका नेताहरूसँगको अनौपचारिक छलफलका क्रममा अध्यक्ष नेपालले ०८१ वैशाखमा राष्ट्रिय महाधिवेशन गर्दा उपयुक्त हुने धारणा राखेका हुन् ।

यसअघि सो पार्टीले माघ १४ देखि १८ गतेभित्र महाधिवेशन सम्पन्न गर्ने मिति तय गरेको थियो । तर तोकिएको मितिमा महाधिवेशनका लागि गर्नुपर्ने तयारीहरू नपुगेको र माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचनलाई देखाउँदै सो पार्टीले माघको महाधिवेशन सार्ने मनस्थिति बनाएको हो ।

सोमबार बस्ने पार्टीको केन्द्रीय सचिवालय बैठकले महाधिवेशन सर्ने नसर्ने निर्णय गर्ने उपमहासचिव तथा पार्टी प्रचार विभाग जगन्नाथ खतिवडाले जानकारी दिए ।

गत भदौ सात गते सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशन आगामी १४ देखि १८ माघसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो । पार्टी गठनपछि पहिलो महाधिवेशन हुन लागेको भए पनि एकीकृत समाजवादीले एमालेबाट विद्रोह गरेर पार्टी पुनर्गठन गरेको भन्दै दशौँ महाधिवेशन भनेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ११ : ५७ बजे