Logo

Breaking News 1

लालपुर्जा पाइने भएपछि खुसी छन् स्थानीय



भजनी । कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको एक बिघा छ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको छ । जग्गा भएर पनि सुकुम्बासीको जस्तो जीवन बिताउन बाध्य भएका निसाद यतिबेला भने खुसी छन् । राष्ट्रिय भूमि आयोग गठन भएर जग्गा वितरणको काम सुरु भएसँगै वडा कार्यालयबाट लालपुर्जाको निस्सा पाएपछि उनी खुसी भएका हुन् ।

वडा कार्यालयले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेसँगै वडाभित्रका करिब छ सय परिवारमा खुसियाली छाएको छ । सोही ठाउँका मंगल पुनसँग कति जग्गा छ भन्ने थाहै छैन । करिब सात दशकदेखि भोगचलन गर्दै आएको जग्गा अनुमानित एक बिघाभन्दा बढी छ । वडा कार्यालयबाट निस्सा पाएपछि निकै खुसी भएका उनी लालपुर्जा पाउनेमा विश्वस्त छन् ।

भ्रतापुरका खेदु डगौरा पनि चार दशकदेखि ऐलानी जग्गा कुरेर बसेका छन् । दश कट्ठा जग्गा आजसम्म आउँदा छ कट्ठामा सीमित भएको छ । सँधियारले मिच्दै गएपछि उनको १० कट्ठा जग्गा छ कट्ठामा सीमित भए पनि उनका लागि सबथोक त्यही जग्गा हो । “त्यसमा भएको उब्जनीबाट परिवारको पेट भरिन्छ । छोराछोरीको कापी कलम पनि हुन्छ खेदु भन्छन् ।

वडामा ६४० जनालाई जग्गको निस्सा वितरण भएको वडाध्यक्ष बलिराम चौधरीले बताए । उनका अनुसार २० परिवार भूमिहीन दलित, ८० परिवार भूमिहीन सुकुम्बासी र ५४० अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेको हो ।

नगरपालिकाले केही दिनमा अरु वडामा समेत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरणको काम सुरु गर्ने नगर प्रमुख रामलाल डगौरा थारुले जानकारी दिए । उनले सबैभन्दा बढी समस्या वडा नं १ र ८ मा रहेको र त्यहाँ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी धेरै रहेका बताउँदै क्रमशः सबैलाई जग्गाको मालिक बनाइने बताए ।

टीकापुर नगरपालिकाको वडा नं १ स्थित टीकापुर बहुमुखी क्याम्पसको जग्गामा मात्रै पाँच हजारभन्दा भन्दा बढी सुकुम्बासी छन् । क्याम्पसको नाममा रहेको तीन सय बिघा जग्गा अतिक्रमण गरेर बसेका सुकुम्बासी त्यही ठाउँमा जग्गा पाउने आशामा छन् भने क्याम्पस प्रशासनले पटकपटक आफ्नो जग्गा खाली गराइदिन स्थानीय सरकारमार्फत आग्रह गर्दै आएको छ । त्यहाँ बसोबास गरिरहेका सुकुम्बासीलाई व्यवस्थापन गर्न भने चुनौती देखिन्छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १० : ०० बजे