Logo

Breaking News 1

‘अस्थायी आवास बनाउँदा दलका स्वयंसेवककाे स्थानीय तहसँग समन्वय भएन’



काठमाडौं। भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा खटिएका राजनीतिक दलका स्वयंसेवकको स्थानीय सरकारसँग समन्वय नभएको संसदीय अध्ययन समितिले बताएको छ ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले भूकम्प प्रभावित क्षेत्रमै पुगेर स्थलगत अनुगमन गरेको थियो । स्थलगत अनुगमन र सरोकारवालासँगको कुराकानीमा समितिले पार्टीका स्वयंसेवकलाई समन्वयात्मक रुपमा खटाउन नसकेको उल्लेख गरेको छ ।

समिति सभापति दिलकुमारी रावलले स्वयंसेवकले अस्थायी आवास बनाए पनि स्थानीय तहसँग समन्वय नहुँदा छाउनका लागि जस्तापाता पाउन नसकेको बताइन् ।

मंसिर १० गतेदेखि जाजरकोट र रुकुम पश्चिमको अनुगमन गरेको रावल नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले दुबै जिल्लाका स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, रेडक्रस, स्काउट आदिसँग छलफल गरेको थियो ।

राष्ट्रिय सभाका सदस्यहरु अनिता देवकोटा, कुमार दसौंदी, गोपीबहादुर सार्की अछामी, राजेन्द्र लक्ष्मी गैरे र शेखरकुमार सिंह थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ४ : १२ बजे