Logo

Breaking News 1

कोरोनाबाट पहिलो मृत्यु भएकी चालिसेका छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाइदिने



काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमल्सिना चालिसेको छोरालाई निःशुल्क पढाइदिने भएका छन् । कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं ९ राम्चेकी सुत्केरी महिला चालिसेको छोरालाई मन्त्री बस्नेतले आफ्नै निजी खर्चमा निःशुल्क पढाइदिन लागेका हुन् ।

वि.सं. २०७७ जेठमा चालिसेको मृत्यु हुँदा चालिसेका छोरा सफल ९ दिनका मात्र थिए । मन्त्री बस्नेतले आज सफललाई काठमाडौँको टोखा नगरपालिका ९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका हुन् । उनले चालिसेका छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज रु ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे ।

मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने समेत बताए । उनले कोरोनाको समयमा नेपाल सरकारले अक्सिजन सिलिण्डर ल्याउन नसक्दा आफूले चीनबाट ल्याएर निःशुल्क बाँडेको समेत स्मरण गरे ।

विद्यालयका प्राचार्य अधिकारीले कोरोनाबाट ज्यान गुमाएका परिवारको शिक्षा क्षेत्रमा सहयोग गरेको भन्दै मन्त्री बस्नेतलाई धन्यवाद दिए । प्राचार्य अधिकारीले मृतक चालिसेको जेठो छोरोसमेत पहिलेदेखि नै आफ्नो विद्यार्थी भएकाले कोरोनामा दुःखद निधन भएसँगै जेठो छोराको पठनपाठनमा विद्यालयले सहयोग गरेको उल्लेख गरे ।

वि.सं. २०५७ सालमा स्थापना भएको कान्तिपुर इङ्लिस एकेडेमीमा हाल ५५० विद्यार्थी अध्ययनरत छन् । मृतकका पति विमल चालिसेले कोरोनाबाट आफ्नो श्रीमतीको ज्यान जाँदा मन्त्री बस्नेतले छोराको पढाईको जिम्मा लिएर मानवीय सहयोग गर्नुभएको भन्दै आभार व्यक्त गरे ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १२ : २९ बजे