Logo

Breaking News 1

विप्लवलाई रोल्पालीको सुझाव : माओवादी घटकको नेतृत्व लिएर अगाडि बढ्नुहोस्



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ६ वर्षपछि गृहजिल्ला रोल्पा पुगेका छन् । जनमुक्ति दिवस र पार्टी पुनगर्ठन दिवसको अवसरमा मंसिर ६ गते उनी रोल्पा पुगेका हुन् ।

राहत र पुनर्निमाणको प्याकेज लिएर भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम (पश्चिम) पुगेका उनी रोल्पाली जनताहरूको मनोविज्ञान बुझ्न रोल्पा आएको नेकपाका नेता चन्द्रबहादुर खड्का अस्कलले बताए । उनका अनुसार कार्यकर्ता र जनताले मुख्य रुपमा तीन विषयमा केन्द्रित रहेर सुझाव दिएका थिए ।

६ गते रोल्पा सुलीचौरमा कार्यक्रम गरी उवामा बास बसेका थिए । ७ गते थवाङमा प्रवेश विप्लवले ८ गते जनमुक्ति दिवसको अवसरमा थवाङको कार्यक्रम भाग लिए । ९ गते थवाङमै नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिए । सोही दिन बाघमारामा कार्यक्रम गरी १० गते घर्तीगाउँको कार्यक्रम सहभागी भए । ११ गते लिवाङमा अन्तक्र्रिया कार्यक्रम गरी सोमबार प्युठान आउने कार्यक्रम रहेको नेता अस्कलले जानकारी दिए । विप्लव यसअघि पार्टीको ८ औं महाधिवेशनमा २०७४ फागुनमा थवाङ पुगेका थिए ।

माओवादी जनयुद्धको उद्गम तथा आधार क्षेत्र रहेको रोल्पामा यसअघि कात्तिक २४ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका थिए । पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँगै पुगेका उनीमाथि सहिद, वेपत्ता, घाइते तथा अपाङ्गता भएका परिवारका सदस्यहरूले शान्ति प्रक्रियामा आएपछि माओवादी नेतृत्वले रोल्पालाई भुलेको गुनासो पोखेका थिए ।

सहिद मार्ग, सहिद पार्क निर्माण तथा द्वन्द्वपीडित जनताहरूको दीर्घकालीन समस्या समाधानका लागि ध्यानाकर्षण गरेका थिए । सोही क्षेत्रका जनप्रतिनिधि रहेका पुनले रोल्पाको विकासका लागि ठोस पहल नगरेको आरोप लगाएका थिए । त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संविधान दिवसको अवसरमा रोल्पाली जनताको मनोविज्ञान बुझ्न असोज ३ गते रोल्पा पुगेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १२ : १० बजे