Logo

Breaking News 1

स्वास्थ्यमन्त्री बस्नेतलाई पदमुक्त गर्न डा. केसीको माग



काठमाडौं। सत्याग्रही डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई माफियाको नाइकेको उपमा दिएका छन्। यहि संज्ञासहित उनले बस्नेतलाई पदमुक्त गर्न सरकारसँग माग गरेका छन्।

आइतबार विज्ञप्ती जारी गर्दै केसीले मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाएका हुन्। केसीले बस्नेत जस्तो व्यक्ति पदमा बसिरहनु लोकतान्त्रिक मूल्य मान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन्।

मापदण्ड नपुगेका र ऐनविपरित सञ्चालन भइरहेका मेडिकल कलेजलगायतका स्वास्थ्यका शिक्षालयलाई सम्बन्धन दिलाउनका लागि बस्नेतले करोडौं रकम लिएको केसीको आशंका छ।

स्वास्थ्यमन्त्री बस्नेतसँग स्वास्थ्य सम्बन्धी ज्ञान, अनुभव नभएको र उनले जान्ने प्रयाससमेत नगरेको केसीको ठहर छ। बस्नेतलाई स्वास्थ्यमन्त्री बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयजस्तो संवेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलवाड गरेको बताएका केसीले यो सामाजिक र राजनीतिक अपराध गरिएको उल्लेख गरेका छन्।

उनले चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा एक सरकारी मेडिकल कलेज वा प्रतिष्ठान २०८० सम्म निर्माण कार्य सम्पन्न गरी सञ्चालन आइसक्नुपर्नेमा त्यसलाई समेत रोकिएको, सरकारी प्रादेशिक अस्पतालहरू नर्सिङलगायतका कार्यक्रमहरु सञ्चालन गर्न मापदण्ड यथेष्ट पूरा भए पनि वास्ता नगरिएको भन्दै स्वास्थ्यमन्त्रीलाई ती कामहरु गर्न समेत आग्रह गरेका छन्।

केसी स्वास्थ्य क्षेत्रको सुधारका निम्ति निरन्तर सत्याग्रह गर्दै आएका व्यक्ति हुन्। उनीविरुद्ध मेडिकल व्यावसायी दुर्गा प्रसाईंलगायतले निरन्तर प्रहार गर्दै आएका छन्।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १ : ४८ बजे