Logo

मुख्य समाचार

दुर्गा प्रसाईंको अराजकतामा एमाले र माओवादीको पनि हिस्सेदारी छ : नैनसिंह महर



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पालनकर्ता भएको र उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी रहेको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले राजाका नाममा भइरहेको अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भएको बताए।

‘दुर्गा प्रसाईं एमाले र माओवादी केन्द्रको पालनकर्ता हो। आज अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हो र हुनुपर्छ,’ उनले भने।

ओली, प्रचण्ड र प्रसाईंबीचको अघोषित सम्बन्धका कारण अहिलेको स्थिति सिर्जना भएको महरले दाबी गरे। ‘दुर्गा प्रसाईं हालको अवस्थामा पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको बराबर सम्पर्कमा छन्। उनीहरूको दोहोरो उक्साहटमा दुर्गा प्रसाईंले आन्दोलन गरिरहेका हुन्। यसमा राजाको पनि अप्रत्यक्ष साथ होला। तर, बढी भूमिका प्रचण्ड(ओलीकै छ,’ उनले भने।

सत्ताको खेल र देशको ढुकुटीमा कसरी रजगज गर्ने भन्ने कम्युनिस्ट प्रपञ्चको हिस्सेदार हिजोदेखि नै दुर्गा प्रसाईं पनि रहेको महरको आरोप छ।

ुओलीले वर्तमान सत्ताका खिलाफमा दुर्गा प्रसाईंलाई प्रयोग गर्न चाहिरहेको देखिन्छ। प्रचण्ड दुर्गा प्रसाईंको माध्यमबाट ओलीलाई तर्साउन चाहन्छन्। प्रचण्ड र केपी ओलीका कमजोरीसँग दुर्गा प्रसाईं परिचित छन्,’ उनले भने।

प्रचण्ड र ओलीका कमजोरी प्रसाईंलाई थाहा रहेकाले उनीहरू प्रसाईंको खिलाफमा जान नसक्दा अराजकताले प्रशय पाइराखेको महरले बताए।

केही अराजक तत्त्व पुनः मुलुकमा द्वन्द्व निम्त्याएर अस्थिरता सिर्जना गर्न प्रयत्नरत रहेकाले कांग्रेस त्यसका खिलाफमा बलियो गरी उभिनुपर्ने बताए।

‘कांग्रेस पनि सुध्रिनुपर्ने छ। हाम्रा कमी कमजोरी छन्। कांग्रेसले आफैँबाट सुधारको प्रक्रिया थाल्नुपर्छ। जनताका लागि काम गर्नुपर्छ। प्रजातान्त्रिक आचरण अनुसार अगाडि बढ्ने वातावरण आफैँभित्र सिर्जना गर्न जरुरी छ। यसरी अगाडि बढे कांग्रेस र मुलुक दुवै समृद्ध हुने छन्,’ उनले भने।

१८र२० वर्ष पहिले नेपालको परिस्थिति एकदमै जरजर रहेकोमा कांग्रेसको नेतृत्वमा हाल प्राप्त उपलब्धिलाई गुम्न नदिन सबै जागरूक हुनुपर्ने महरले बताए। ‘जनता हिंसा, हत्या र आतंकको त्रासमा बाच्नुपर्ने अवस्था हामीले अन्त्य गरेका छौं। कांग्रेसकै नेतृत्वमा मुलुक सफल संघीयताको अभ्यासमा गएको छ। संविधान पाएका छौं। मुलुक शान्तिप्रक्रियामा छ। यो उपलब्धिको हामी सबैले रक्षा गर्नुपर्छ,’ उनी भन्छन्।

सबैको साझा मुलुक बनाउनका लागि नेपाली कांग्रेसको नेतृत्वमा शान्ति प्रक्रियाको गति अगाडि बढेको र पछिल्लो लोकतान्त्रिक गणतन्त्र स्थापित भएको कसैले भुल्न नहुने उनले बताए।

अहिले जनतामा भ्रम छर्दै अरूलाई गाली गरेर आइरहेका नयाँ शक्तिहरू पनि पानीको फोका जस्तै भएको महरको टिप्पणी छ। उनले एजेन्डा बिनाका त्यस्ता नयाँ शक्ति लामो समयसम्म अड्न नसक्ने बताए।

परिवर्तित जलवायुले मनसुन वर्षाको प्रकृति, मात्रा र समय तालिकामा व्यापक परिवर्तन भई तापक्रम वृद्धि भइरहेको उनले बताए। वर्षामा आएको फेरबदल, प्रकोप र विपद्को वृद्धि र अतिशय घटनाका कारण नेपालीले बहुपक्षीय चुनौतीको सामना गर्नु परिरहेको महरको भनाइ छ।

जलवायु परिवर्तनको असरले विशेष गरी हिमाली क्षेत्रमा हिमताल पग्लिने, विस्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुख्खा खडेरी तथा तराई मधेशमा बाढी पहिरोको देखिन थालेको तर्फ महरले चिन्ता व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्ड केही दिनमै जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८औं सम्मेलनमा भाग लिन जाने कार्यक्रममा यो विषमा बुलन्द आवाज उठाउनु पर्ने बताए।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  २ : ४५ बजे