Logo

Breaking News 1

अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति पौडेल



काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

इफाप्का (एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १९ मुलुकका निर्माण व्यवसायीको छाता संस्था) को ४६औँ सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका हुने बताए ।

उनले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सतर्कता अपनाउन जरुरी रहेको उल्लेख गरे ।

उनले अहिलेको विश्वलाई हेर्ने हो भने पनि भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य विकास गरेका मुलुकहरूले नै आर्थिक प्रगति गरेको बताउँदै भौतिक पूर्वाधारको विकाससँगै हामीले यससँग सम्बन्धित अन्य पक्षहरूलाई पनि विशेष ध्यान दिनुपर्ने समय आएको बताए ।

उनले हालै नेपालको भ्रमण गरेका संयुक्त राष्ट्र सङ्घका महासचिवले पनि जलवायु परिवर्तनको ‘एजेन्डा’लाई उच्च महत्व दिएको प्रसङ्ग स्मरण गराउँदै कार्बन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न सबैलाई आग्रह गरे । विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा भौतिक पूर्वाधारको क्षेत्रले पनि प्रविधिमैत्री अभ्यासलाई अझ बृहत् बनाउनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १२ : ३६ बजे