Logo

खेलकुद

युरोकपमा छानियो क्रोसिया



काठमाडौं । क्रोसिया युरोकप २०२४ मा छनौट भएको छ । मंगलबार राति सम्पन्न समूह डीअन्तर्गतको खेलमा अर्मेनियालाई १-० गोल अन्तरले पराजित गर्दै क्रोसिया युरोकपमा छनौट भएको हो ।

क्रोसियाको जितमा खेलको ४३औं मिनेटमा आन्ट बुडीमिरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि क्रोसियाको समुह डी मा ८ खेलमा १६ अंक भएको छ र समुह उपविजेता हुदै युरोकपमा छनौट भएको छ । यस समुहबाट समुह विजेता हुदै टर्की युरोकपमा छनौट भएको छ ।

योसँगै अब प्लेअफबाट छनौट हुने तीन देश बाहेक युरोकपमा खेल्ने २१ को टुंगो लागेको छ । युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुदै छ । आयोजकका हिसाबले जर्मनी सिधै छनौट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समूह ‘ए’बाट स्पेन र स्कटल्याण्ड, समुह बि बाट फ्रान्स र नेदरल्याण्डस, समुह सी बाट इङल्याण्ड र इटाली छानिएका छन् ।

त्यस्तै समुह ‘डी’बाट टर्की र क्रोसिया छनौट भएका छन् । त्यसैगरी समुह इ बाट अल्बानिया र चेक रिपब्लिक छनौट भएका छन् भने समुह एफ बाटबेल्जियम र अस्ट्रिया छनौट भएका छन् । त्यसैगरीसमुह जी बाट हंगेरी र सर्बिया, समुह एच बाट डेनमार्क र सर्बिया, समुह आइ बाट रोमानिया र स्वीजरल्याण्ड तथा समुह जे बाट पोर्चुगल र स्लोभाकिया युरोकपका लागि छनौट भएका छन् ।

आगामी युरोकपमा म्यानचेस्टर सिटीबाट खेल्ने इर्लिंग हलाण्डको देश नर्वे भने छनौट हुन असफल भएको छ । समुह ए मा रहेको नर्वे ८ खेलमा ११ अंकसहित तेस्रो भएको थियो । सिधै छनौट हुन असफल भएको नर्वे नेसन्स लिगमा खराब प्रदर्शनका कारण प्लेअफ समेत खेल्न नपाउने भएपछि युरोकपमा पुग्न असफल भएको हो ।

अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन् । प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ । प्लेअफको ड्र भने नोभेम्बर २३ मा हुने छ भने प्लेअफका खेल आगामी मार्चमा हुने छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १० : ३० बजे