Logo

मुख्य समाचार

कोरला नाकामा अस्थायी संरचना


२६ कार्तिक २०८०, आइतबार  

46
Shares

म्याग्दी । चार वर्षपछि पुुनःसञ्चालनको तयारी भएको मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकाको नेपालतर्फ सुुरक्षाकर्मीहरूको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ । लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बीओपी)को रोहबरमा चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा कन्टेनर सुविधाको पूर्वाधार संरचना तयार गरेको हो ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले २० फिुुट लम्बाइ र दश फिुट चौडाइका झ्याल र ढोका भएका सिसाबाट बाहिर हेर्न सकिने पाँच प्रिफेव कन्टेनर जडान गरिएको जानकारी दिए ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को असोज पहिलो साता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो । मुस्ताङ र चीनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीबीच नाका सञ्चालन र व्यवस्थापनका विषयमा चारपटक वार्ता भएको थियो । कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि नाका पूर्णरूपमा बन्द भएको छ । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो ।

नाका सञ्चालनको तयारीका क्रममा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई ‘नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र’ वितरण गरिएको छ । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पा नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो ।

विसं २०५८ सम्म रोकतोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेलाबाहेकको अवधिमा बन्द गर्दै आएको छ । नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ९ : १५ बजे