वासिङटन डिसी। इजरायल– हमास युद्धको बीचमा अमेरिकी सेनाले एक असामान्य घोषणा गरेको छ।
सेनाले अमेरिकाको निर्देशित मिसाइल आणविक पनडुब्बी मध्यपूर्वको पानीमा प्रवेश गरेको जनाएको छ । यो पनडुब्बी ओहायो क्लासको हो तर सेनाले यसको नाम भने अझै खुलाएको छैन ।
अमेरिकी केन्द्रीय कमाण्डले सामाजिक सञ्जालमा पनडुब्बीको तस्विर शेयर गर्दै लेखेका छन्, ‘ओहायो क्लासको पनडुब्बी आफ्नो जिम्मेवारी क्षेत्रमा प्रवेश गर्दैछ ।’
सीएनएन रिपोर्टका अनुसार ओहायो पनडुब्बी स्वेज नहरको वरपर कतै देखिन्छ। अमेरिकी केन्द्रीय कमाण्डले पनडुब्बीको नाम भने खुलाएको छैन । हाल अमेरिकी नौसेनासँग ४ प्रकारका गाईडेड मिसाइल पनडुब्बीहरू छन्।
यसबाहेक अमेरिकासँग टमाहक क्रुज मिसाइलले सुसज्जित एसजीएनहरू छन्। एसजीएनले एक पटकमा १५४ टमाहक क्रुज मिसाइल बोक्न सक्छ।
इजरायल र हमासबीचको युद्धमा अमेरिका इजरायलको समर्थन गर्दै आएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्की, इजरायल, इराक, वेस्ट बैंक, जोर्डनसँग मध्यपूर्वको युद्धको अवस्थाका बारेमा बैठक गरिरहेका बेला अमेरिकाले मध्यपूर्वमा आणविक पनडुब्बी तैनाथ गरेको छ ।
यसपछि एकातिर वार्ताको मञ्च अपनाउने र अर्कोतर्फ समुद्रमा पनडुब्बी परिचालन गरे पछि अमेरिकाको रणनीतिमाथि प्रश्न उठिरहेको छ ।
इराक र सिरियामा रहेका अमेरिकी सेनालाई इरान समर्थित समूहहरूले नियमित रूपमा आक्रमण गर्ने गरेका छन्।
यसैबीच, अमेरिकाले आफूमाथि भइरहेको आक्रमणको जवाफ दिन सक्छ भन्ने सन्देश मध्यपूर्वलाई दिएको विश्वास गरिएको छ ।
प्रतिक्रिया