Logo

अर्थ

व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य कैलालीका किसान


१४ कार्तिक २०८०, मंगलबार  

46
Shares

टीकापुर । कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् । सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान बेच्नुपर्ने बाध्यता छ । नेपाल खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा किसानले स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन् ।

कैलालीमा नेपाल खाद्य संस्थानले भने यही कात्तिक अर्को साताबाट धान खरिद गर्ने बताएको छ । कात्तिक तेस्रो साताबाट धान खरिदको तयारी भइरहेको नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख एन्जिला बस्नेतले बताइन् ।

संस्थानले यस वर्ष कैलालीमा ६० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । टीकापुर र धनगढीबाट पहिलो चरणमा धान खरिद गर्ने तयारी भएको उनले बताए ।

सरकारले यस आव २०८०÷८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । सरकारले मोटा धान प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ र मध्यम धानप्रति क्विन्टल रु तीन हजार तीन सय ६२ न्यूनतम समर्थन मूल्य तोकेको छ ।

संस्थानले सरकारले तोकेको मूल्यमा धान गरिद गर्ने गरेता पनि समयमा सरकारी काँटा नलगाउँदा धेरै किसानले सस्तो दरमा गल्ला तथा स्थानीय व्यापारीकहाँ बेच्नुपर्ने बाध्यता छ । ढिलो खरिद सुरु गरे पनि संस्थानले खरिद गर्ने स्थानमा किसानलाई धेरै सास्तीसँगै हप्ता दिनसम्म बसेर बेच्नुपर्ने भएकाले समयमा सहजरूपमा धान खरिद गर्ने वातावरण मिलाउनु आवश्यक रहेको किसानको माग छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ९ : १५ बजे