पोखरा। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आउने भएपछि अन्नपूर्ण आधार शिविरमा स्वागत कार्यक्रमको तयारी गरिएको छ ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, वडा नं. ११ का वडाध्यक्ष हिमबहादुर गुरुङसहितको टोली तयारीको लागि अन्नपूर्ण आधार शिविर पुगेको हो ।
गुटरेसको स्वागत कार्यक्रमको तयारीका लागि आफूहरु आइतबार नै आधार शिविर पुगेको अन्नपूर्ण आधार शिविर रहेको वडा नं. ११ का वडाध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार सोमबार आधार शिविर क्षेत्रमा मौसम खराब भएका कारण हेलिकप्टर चल्ने अवस्था छैन ।
गुटेरेस आउने भएपछि आइतबार नै थप २ वटा हेलिप्याड पनि नेपाली सेनाले बनाएको छ । यसअघि त्यहाँ एउटामात्रै हेलिप्याड थियो ।
गुटरेसलाई स्वागत गर्न आधार शिविरमा रातो कार्पेट ओच्छ्याउने तयारी छ । तर, मौसम खराबीका कारण सोमबार दिउँसोसम्म सामान बोकेको हेलिकप्टर आधार शिविर पुग्न नसक्दा अनिश्चितता बढेको गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।
महासचिव गुटरेस सोमबार दिउँसो पोखरा आइसकेका छन् । सोमबार पोखरामै बास बसेर मंगलबार बिहान ६ बजेर ३० मिनेटमा नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जाने तालिका छ । त्यहाँ करिब आधा घन्टा बिताएर उनी फेरि पोखरा फर्किनेछन् ।
एबीसीबाट ७ : ५० मा पोखरा फर्किएपछि पत्रकारसँग पनि कुराकानी गर्नेछन् । त्यसपछि उनी बिहान साढे ८ बजे पोखरा विमानस्थलबाट सिधैं भैरहवा विमानस्थल अवतरण गरेर लुम्बिनी प्रस्थान गर्नेछन् ।
प्रतिक्रिया