Logo

मुख्य समाचार

बेनी अस्पतालमा बिदाका दिन पनि बहिरङ्ग सेवा


३ कार्तिक २०८०, शुक्रबार  

46
Shares

म्याग्दी । बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक बिदाका दिनमामा बहिरङ्ग सेवा प्रवाह गर्न थालेपछि सर्वसाधारणलाई राहत मिलेको छ । बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन हँुदै आएको बहिरङ्गको सेवा प्रवाह हुने समय अवधि दैनिक छ घण्टा थपिएको हो । बिहान ७ देखि साँझ ८ बजेसम्म बहिरङ्ग कक्षबाट सेवा दिन थालिएको अस्पतालले जनाएको छ ।

गत असोज २१ गतेदेखि परीक्षणका लागि सुरु गरिएको अतिरिक्त समयमा प्रवाह हुने सेवालाई बिहीबारदेखि औपचारिक रुपमा निरन्तरता दिइएको अस्पतालका प्रमुख डाक्टर अञ्जु थापाले बताइन् ।

कार्यालय समयमा अस्पतालमा लाइन बसेर सेवा लिन नसक्ने मजदुर, विद्यार्थी, कर्मचारी, व्यवसायीको सुविधा, दिउँसोको समयमा हुने सेवाग्राहीको चाप घटाउने र निजी क्लिनिकमा सेवा लिनुपर्ने समस्या न्यूनीकरणका लागि अतिरिक्त समयमा सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए ।

अतिरिक्त समयमा सेवा दिने चिकित्सक र स्वास्थ्यकर्मीलाई कामको आधारमा भत्ता दिने व्यवस्था मिलाइएको छ । अतिरिक्त समयमा सेवा लिएबापत सर्वसाधारणले थप शुल्क तिर्नुपर्दैन । अस्पताल व्यवस्थापन समितिमार्फत दुई जना चिकित्सक, एक जना फार्मेसी सहायक, एक जना रेडियोग्राफर र दुई जना सुरक्षा गार्ड नियुक्त गरेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ११ : २४ बजे