काठमाडौं। प्रतिनिध सभाको बैठक जारी छ । दिउँसो २ बजेबाट संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक जारी रहेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको जारी बैठकमा वर्तमान सरकार असफल भएको भन्दै संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने आवाज उठेको छ ।
शुक्रबारको संसद् बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन माग गरेका हुन् ।
कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएका उल्लेख गर्दै उनले संविधानको रक्षाका लागि समेत राष्ट्रिय सरकार आवश्यक रहेको बताए । ‘कांग्रेस सबैभन्दा ठूलो दल हो । सबै मिलेर एकपल्ट राष्ट्रिय सरकार बनाऔं । होइन भने क्रान्ति र परिवर्तन सबै सिद्धिएर जान्छन् । त्यसले कहाँ पु¥याउँछ थाहा छैन’ उनले भने ।
पछिल्लो समय नेपाली कांग्रेसभित्र प्रचण्ड नेतृत्वको सरकार फेर्ने बहस सुरु भएको छ । खासगरी डा शेखर कोइराला पक्षका सांसदहरु कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने बताउँदै आएका छन् । यद्यपि पार्टीको संस्थाप पक्ष भने अहिले हतार नगर्ने मुडमा देखिएको छ ।
वर्तमान सरकारका विकल्प खोज्नुपर्ने आवाज उठाउने कोइराला पक्षले सत्ता गठबन्धनको निर्णयमाथि चुनौती दिँदै कोशी प्रदेशको मुख्यमन्त्रीमा आफू निकटका केदार कार्कीलाई अघिसारेका छन् । बिहीबार बसेको गठबन्धनको बैठकले मुख्यमन्त्री माओवादीलाई दिने निर्णयविरुद्ध उभिँदै कोइरालाले कार्कीलाई अघि सारेपछि कांग्रेसभित्रको भाँडभैलो सतहमै आएको छ ।
२४ घण्टामा विकसीत पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न अहिले कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सुरु भएको हो ।
प्रतिक्रिया