Logo

Breaking News 1

इजरायल घटना : विद्यार्थी मारिएपछि शोकमा सुदूरपश्चिम


२३ आश्विन २०८०, मंगलबार  

69
Shares

कञ्चनपुर। इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दस नेपाली विद्यार्थी मारिएपछि मङ्गलबार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाउनेमध्ये धेरै सुदूरपश्चिमका छन् ।

सिक्दै कमाउन एक महिनाअघि इजरायल गएका दार्चुला, बझाङ, डोटी र कैलाली जिल्लाका सात विद्यार्थीले इजरायलमा ज्यान गुमाएका हुन् । “प्यालिस्टेनीे हमास समूहले आक्रमणमा परेर नेपाली ती विद्यार्थीको ज्यान गएको दुःखद खबरले विश्वविद्यालय पनि अहिले परिवार शोकमा डुबेको छ,” सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताए ।

उनका अनुसार विद्यार्थी मारिएको शोकमा विश्वविद्यालय मातहतका निकायमा शोकसभा आयोजना भइरहेको छ । कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका–११ का गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशीष चौधरी, लेकम–४ दार्चुलाका दीपेशराज विष्ट, डोटीका राजन फुलारा, पदम थापा र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामीको आक्रमणमा निधन भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का बिपिन जोशी सम्पर्कविहीन छन् । उक्त विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका ४९ जना विद्यार्थी गत भदौ २५ र २६ गते ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । नेपाली विद्यार्थी मारिएको घटनाले विक्षिप्त बनाएको टीकापुर कृषि क्याम्पसका तत्कालीन डिन लालप्रसाद अमगाईंले बताए ।

भदौ २८ मा अमगाईंको कृषि क्याम्पसमा कार्यकाल सकिएको थियो । उक्त विश्वविद्यालयबाट कृषि सङ्कायको स्नातक तह उत्तीर्ण गरेर प्रयोगात्मक अध्ययनका साथै कमाईका लागि विद्यार्थी इजरायल गएका थिए ।

सो विश्वविद्यालयले पहिलोपटक इजरायली राजदूतावासको समन्वयमा त्यहाँको सेडट नेगेभ कलेजसँगको सम्झौतामा विद्यार्थीहरू ११ महिने ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि गत भदौ २५ गते १५ र २६ गते ३४ गरेर ४९ जना नेपाली विद्यार्थी इजरायल पठाएको थियो । विद्यार्थीले कृषि सीप सिक्नाका साथै केही आम्दानी गर्ने उद्देश्यले विश्वविद्यालयलले प्रयोगात्मक अभ्यासका लागि त्यहाँ पठाएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  २ : ५३ बजे