महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदी किनारामा एक लाख रुपैयाँ पुरस्कार रहेको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ ।
यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पहिलोपटक प्रथम पुरुष खुला तथा भेट्रान बिचभलिबल प्रतियोगिता यही असोज २९ गतेदेखि आयोजना हुन लागेको हो ।
आयोजकले सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी भीमदत्त नगरपालिका–१२ ऐरीस्थित भाइरल रोड छेउमा रहेको महाकाली नदी किनारमा बिचभलिबल आयोजना गरिने जानकारी गराएको छ ।
नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित उक्त आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगिता मूल आयोजक समिति संयोजक एवं भलिबल संघका जिल्ला अध्यक्ष श्यामसिंह मौनीले खेलकुदको विकाससँगै यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा समेत आयोजनाले बल पुग्ने बताए ।
खुलातर्फ प्रथम स्थान हासिल गर्ने टिमले एक लाख नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । द्वितीय हुने टिमले ५० हजार र तृतीय स्थान ओगट्ने टिमले २५ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिनेछ ।
भेट्रान (चालीस वर्षभन्दा माथि)तर्फ पहिलो हुने टिमले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुने टिमले १० हजार नगद, ट्रफी र मेडल पाउनेछन् ।
प्रतिक्रिया