Logo

Breaking News 1

इजरायलबाट नेपाली फिर्ता ल्याउने प्रयासमा सरकार



काठमाडौं। प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार एक्कासि इजरायलमा आक्रमण गरेपछि त्यहाँ द्वन्द्व चर्किएको छ । इजरायलले जवाफी आक्रमणले थालेसँगै दुई पक्षबीच लडाइँ जारी छ । इजरायलले युद्धको घोषणा नै गरिसकेको छ ।

द्वन्द्वमा विभिन्न देशका नागरिक फसेका छन् । कतिपयको मृत्यु भएको छ । इजरायलमा आफ्ना नागरिक रहेका देशहरूले उद्धारको प्रयास गरिरहेका छन् । केही देशले आफ्ना नागरिकको उद्धार समेत गरिसकेका छन् ।

हमासको आक्रमणमा परी इजरायलमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको छ । अरू केही घाइते छन् । त्यहाँ रहेका नेपालीले उद्धारका निम्ति सरकारसँग आग्रह गरिरहेका छन् ।

युद्धग्रस्त क्षेत्रमा फसेका नागरिकको जतिसक्दो चाँडो उद्धार गर्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तर, कुन रुटबाट कसरी उनीहरूलाई नेपाल ल्याउने टुंगो लाग्नै बाँकी छ । अहिले त्यहाँ उडानमा समेत सहज स्थिति छैन । सोही कारण कहाँबाट कसरी गएर उद्धार गर्न सकिन्छ भन्ने टुंगो लागेको छैन ।

इजरायलमा जारी द्वन्द्व र त्यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा समन्वय संयन्त्र गठन गरिएको छ । त्यहाँ मृत्यु भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन विमान तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने संयन्त्रले निर्णय गरेको छ । इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरणको उपाय खोज्ने निर्णय पनि संयन्त्रले गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  २ : २६ बजे