Logo

Breaking News 1

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका-२४ हनुमानढोका परिसर अगाडि ओखलढुङ्गा लिखु गाउँपालिका-४ घर भई हाल काठमाडौं क्षेत्रपाटी बस्ने १७ वर्षीय सनि कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१९ घर भई हाल ललितपुर लुकुसी बस्ने २० वर्षीय सोनिया श्रेष्ठ खड्गी, ललितपुर महानगरपालिका-१९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्गी, मकवानपुर हेटौंडा उपमहानगरपालिका-‍२ घर भई हाल काठमाडौं महानगरपालिका-२४ बस्ने १९ वर्षीया भुमी मल्ल र ललितपुर गोदावरी नगरपालिका-५ घर भई हाल ललितपुर नागाबाहल बस्ने १९ वर्षीय अरबिन ठकुरी रहेका छन् । 

धारिलो हतियार प्रहारबाट सोमबार राति गम्भीर घाइते भएका सनि कार्कीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टर महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानको क्रममा घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई सोही दिन काठमाडौं महानगरपालिका-२४ मखनबाट, भुमी मल्ललाई काठमाडौं क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका-१६ बाट घटनामा प्रयोग भएको चक्कुसहित प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ६ : ३३ बजे