Logo

मुख्य समाचार

शिक्षकका संवैधानिक माग सरकारले सुन्नुपर्छ : नैनसिंह महर



काठमाडौं । दुई दिनदेखि काठमाडौंमा शिक्षकहरूले चर्काएको आन्दोलनको विषय नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षकाहरूका मागको सुनुवाइमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

‘शिक्षकहरूको आन्दोलनप्रति हामीले ख्याल गर्नुपर्छ । विद्यालय शिक्षा विधेयकबारे प्रश्न उठेका छन् । सरकारले यसअघि कबुल गरेका केही विषय विधेयकमा समावेश छैनन् । शिक्षकहरूले संविधानबाहिरका कुरा उठाएका छैनन् । संविधानलाई क्रस गर्ने गरी माग राखेका छैनन् । यस्तोमा कांग्रेसले रमिता हेरेर बस्न मिल्दैन,’ उनले भने ।

महरले दुई दिनदेखि आन्दोलन भइरहेको बताउँदै यसबारे सत्तामा रहेका कारण कांग्रेसले गम्भीर भएर सुनुवाइको पहल गर्नुपर्ने बताएका छन् ।

त्यसैगरी अर्की केन्द्रीय सदस्य प्रतिमा गौतमले आन्दोलित शिक्षकहरुका माग अहिलेको सरकारले सुनेर पूरा गरिदिनुपर्ने बताइन् । अहिलेको निराशालाई कसरी चिरेर अघि बढ्ने भन्ने योजना कांग्रेसलाई चाहिएको पनि उनले बैठकमा बताइन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ५ : ४७ बजे