Logo

मुख्य समाचार

इजरायलले दियाे बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायलले नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरूप प्रदान गरेको छ । इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले आज राष्ट्रपति भवन शीतलनिवासमा बिपीको सो भाषण उपहारस्वरूप हस्तान्तरण गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग दौत्य सम्बन्ध स्थापना भएको थियो । सन् १९४८ मा राज्यका रूपमा स्थापित इजरायलसँग बीपी कोइरालाले सिङ्गो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गरेका थिए । सो दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगष्टमा ‘इन्टरनेशलन कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्स’ को प्रमुख अतिथिको हैसियतमा उद्घाटन गर्दै बीपी कोइरालाले गर्नुभएको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहारस्वरूप हस्तान्तरण गरेका हुन् ।

राजदूत गोदेरले सो भाषण धेरै मेहनतसाथ खोजी गरेर आफूले फेला पारेको र बीपी कोइरालाकै अनुयायी नेपालको राष्ट्रप्रमुख भएका बेला हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताएका सल्लाहकार पोखरेलले जानकारी दिए । उनका अनुसार राष्ट्रपति पौडेलले बीपीको यस्तो ऐतिहासिक दस्तावेज उपहार उपलब्ध गराएकामा हर्षित हुँदै धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ८ : ३२ बजे