Logo

Breaking News 1

शोक प्रस्ताव पारित गर्दै एमालेले भन्यो- सुवास नेम्वाङको निधनले देश नै शोकमग्न



काठमाडौं। नेकपा एमालेले उपाध्यक्ष, संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले देश नै शोकमग्न भएको बताएको छ ।

मंगलबार बिहान हृदयघातबाट नेम्वाङको निधन भएपछि दिउँसो बसेको एमाले सचिवालय बैठकले उनको निधनमा विशेष शोक प्रस्ताव पारित गर्दै एमालेमात्र नभएर देश नै शोकमग्न भएको बताएको हो ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गरेको हो । बैठकपछि कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले बैठकले नेम्वाङको योगदानको मूल्यांकन गर्दै विशेष शोक प्रस्ताव पारित गरेको जानकारी दिए ।

‘मुलुकको संविधान निर्माणका लागि उहाँले खेल्नु्भएको भूमिका नेपालको इतिहासमा अमिट रहेको छ । बैठकले उहाँको योगदानको मूल्यांकन गर्दै विशेष शोक प्रस्ताव पारित गरेको छ । दुई–दुईपटक संविधानसभाको अध्यक्ष बन्ने दुर्लभ अवसर उहाँले पाउनुभएको हो,’ ज्ञवालीले भने, ‘पार्टी परिवारमात्र होइन, सिंगो देश शोकमग्न भएको छ ।’

साथै बैठकले नेम्वाङको सम्मानमा तीन दिनसम्म देशभरका सबै पार्टी कार्यालयमा पार्टी झण्डा आधा झुकाउने, केन्द्रीय कार्यालय, प्रदेशिक कार्यालयहरु र इलाम जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिकासमेत राख्ने निर्णय गरेको छ ।

पार्टी र अन्तर्गतका सबै जनवर्गीय संगठनले तीन दिनसमम सबै औपचापरिक कार्यक्रम स्थगित गरेको पनि ज्ञवालीले जानकारी दिए ।

यसअघि मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १ : ५२ बजे