Logo

Breaking News 1

निजामती सेवासम्बन्धी विधेयक छिटै संसदबाट पारित हुन्छ : प्रधानमन्त्री


२२ भाद्र २०८०, शुक्रबार  

69
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक छिटै संसदबाट पारित  गर्ने विश्वास व्यक्त गरेका छन् ।

बीसौँ निजामती सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बाेल्दै प्रधानमन्त्री प्रचण्डले बिहीबारमात्र मन्त्रिपरिषद्ले विधेयक संसद्मा पठाउने निर्णय गरेको र राजनीतिक दलहरूको सहमतिबाट संसद्ले उक्त विधेयक छिटो पारित गर्ने विश्वास व्यक्त गरे ।

उनले मुलुकको सिङ्गो प्रशासन संयन्त्रलाई उत्प्रेरित र उच्च मनोबलयुक्त, निष्पक्ष, पारदर्शी, परिणाममुखी, जवाफदेही, स्वच्छ, सक्षम र प्रविधिमैत्री बनाई निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

उनले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सामाजिक न्याय, सुशासन, र समृद्धिका एजेन्डामा लैजाने सरकारको अहिलेको मुख्य कार्यभार रहेको बताउँदै राजनीतिक परिवर्तनका निम्ति सङ्घर्ष गरेका जनतालाई शासन व्यवस्थामा आएको परिवर्तनको लाभांश दिनुपर्ने जिम्मेवारी र चुनौती दुवै रहेको बताए ।

उनले गठबन्धन दलहरूको साझा न्यूनतम कार्यक्रम, नेपाल सरकारको नीति तथा कार्यक्रम साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर काम गर्नु सबैको मुख्य जिम्मेवारी रहेको प्रस्ट पारे । संविधानको मूल मर्म र भावनालाई आत्मसात् गरी सङ्घीयताको प्रभावकारी कार्यान्वयन, शासकीय संरचना र कार्यशैली, सार्वजनिक सेवा प्रवाहमा सुधार साथै भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी सरकार अगाडि बढिरहेको उनको भनाई थियो ।

प्रधानमन्त्री प्रचण्डले जनतामा भएको निराशा चिर्दै आशाको नयाँ रक्तसञ्चारसहित राष्ट्रको मुहार फेर्ने अभियानमा निजामती कर्मचारीको मन, बचन र कर्मले दृढतापूर्वक क्रियाशील रहने विश्वास व्यक्त गर्नुभयो । राजनीतिक परिवर्तनसँगै निजामती प्रशासनलाई रुपान्तरण गर्न विसं २०१३ भदौ २२ मा जारी भएको निजामती सेवा ऐनको भूमिकालाई समेत आत्मसात् गरी अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरुप निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेको उनकोे भनाइ थियो ।

भविष्यमा दण्ड र पुरस्कारको व्यवस्थालाई ठोसरूपमा अगाडि बढाई राष्ट्र र जनताको हित र सेवामा समर्पित भई कार्यक्षेत्रमा खट्ने असल, सक्षम र कर्तव्यनिष्ट कर्मचारीलाई थप उत्प्रेरित गरिने उनकोे भनाइ छ ।

 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ११ : ५७ बजे