Logo

Breaking News 1

नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य



काठमाडौं । ओपनर आसिफ शेखको अर्धशतकप्रेरित नेपालले एसिया कप–२०२३ मा भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ  ।व्यक्तिगत एक रनमा खेलिरहँदा क्याच हुनबाट बचेका आसिफले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको योगफल जोडेको छ ।

आसिफले ५८ रन बनाएका थिए । भारतविरुद्ध नेपालका ओपनरद्वय आसिफ र कुशल भुर्तेलले उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुईले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै पहिलो पावर प्लेमा भारतीय बलिङलाई दबाबमा राखेका थिए। तर, ९.५ ओभरमा कुशल भुर्तेल आउट भएपछि नेपालले यो लयलाई अन्त्यसम्म कायम राख्न सकेन ।

भारतविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका कुशल भुर्तेलले २५ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए । कुशल पनि इनिङको पहिलो ओभरको छैटौं बलमा क्याच आउट हुनबाट बचेका थिए । मोहम्मद सामीले गरेको पहिलो ओभरको छैटौं बलमा कुशल भुर्तेलको क्याच स्लिपमा श्रेयस ऐयरले छोडेका थिए ।

नेपाली टिमको खातामा दीपेन्द्रसिंह ऐरीले २९ रन थपे । १४४–६ को अवस्थामा नेपालको स्कोरबोर्ड रहँदा दीपेन्द्रले सोमपाल कामीसँग ५० रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म डोहोर्याएका थि । सोमपाल कामीले ५६ बलमा एक चौका र दुई छक्कासहित ४८ रन जोडेका थिए ।

गुल्सन झाले ३५ बलमा तीन चौकासहित २३ रन थपे। नेपालका अन्य ब्याटरको प्रदर्शन भने उल्लेखनीय रहेन। आरिफ सेखको स्थानमा मौका पाएका भीमले पनि टिमको खातामा सात रनमात्र थपे । सन्दीप लामिछानेले नौ रन बनाए। कुशल मल्ल दुई रन र ललितनारायण राजवंशी शून्यमै आउट हुँदा करण केसी दुई रनमा अविजित रहे । भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन विकेट लिए। हार्दिक पन्ड्या, शार्दूल ठाकुर र मोहम्मद सामीले समान एक विकेट लिए।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ८ : ३१ बजे