Logo

Breaking News 1

नेपाल सेमिफाइननलमा प्रवेश



काठमाडौं । नेपाल आईसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बांगीमा सोमबार भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै एक खेलअघि नै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

लगातार चौथो जित निकालेर सेमिफाइनल यात्रा सुरक्षित गरेको समूह ए बाट नेपालले मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे हो । सोमबार भएको खेलमा कतारले जितको लागि दिएको ७५ रनको सामान्य  लक्ष्य नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा काजल श्रेष्ठले २८ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३२ रनको योगदान दिइन् । त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रन र सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन जोडेको थियो ।

नेपालका लागि इन्दु बर्माले ३ विकेट लिइन् भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए ।

नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ११ : ४७ बजे