Logo

मुख्य समाचार

युवा पुस्तालाई सिकाउन लम्जुङमा एक महिनादेखि लाखे नाच



लमजुङ । लमजुङको सदरमुकाम बेसीशहरमा विगत १ महिना अघिदेखि नयाँ पुस्तालाई आफ्नो संस्कृती हस्तान्तरण गर्न बेसीसहरका नेवार समुदायले हरेक दिन लाखे नाच निकाल्ने गरेका छ्न् ।

लाखे नाँच नागपञ्चमीबाट सुरु गरिने भएपनि युवा पुस्तालाई सिकाउनको लागि एक महिना भन्दा अघिदेखि नै नाच सुरु गरिएको लमजुङ नेवा खलका अध्यक्ष बालचन्द्र श्रेष्ठले बताए ।

नेवार समुदायको पुरानो कला संस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि पाका पुस्ताबाट नयाँ पुस्तामा तालिम मार्फत हस्तान्तरण गर्दै युवाहरु मिलेर बजारमा लाखे नाच देखाईएको नेवा खलका सचिव विमल श्रेष्ठले बताए ।

बेसीशहरको भिमसेन स्थान चोकमा हरेक दिन साँझ निकालिने लाखे नाँच नाच्दै बेसीशहर बजार परिक्रमा गर्ने गरिएको छ ।  लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रुपमा लिने गरिन्छ । परम्परा देखि लगाउदै आएको पुरानो खम्पर मुखौटो लगाएर, कपाल फिजाँरी, मान्छेलाई भूत जस्तो स्वरुप बनाई ठूलो मृदंगा, मादल, झ्याली र ढलकीको तालमा लाखे नचाउँदै बजार परिक्रमा गर्ने प्रचलन छ । लाखे नाच हेर्न बजारमा ठूलो भीड लाग्ने गर्दछ ।

नेवार संस्कृति मध्ये लाखे नाँच अन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिन देखि सुरु गरेर तिज पर्वसम्म विभिन्न नाँच तथा जात्राहरु देखाउने प्रचलन छ । एक महिनाको अवधीमा लाखे नाच, घोडा नाच, गाईजात्रा, श्रीकृष्ण रथयात्रा, रोपाई जात्रा जस्ता जात्राहरु विभिन्न पर्वको अवसर पारी देखाउने प्रचलन रहेको अध्यक्ष श्रेष्ठले बताए।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ९ : ४८ बजे