काठमाडौं । एमसीसी कार्यान्वयन हुने चरणमा पुगेका बेला एमसीसीका उपाध्यक्ष नेपाल भ्रमणमा छन् । बुधवार उक्त अनुदान सम्झौताको पाँच वर्षे कार्यान्वयन चरण सुरु हुन लागेको बेला उपाध्यक्ष क्यामरन एल्फर्ड काठमाडौं आएका हुन् ।
यता प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मात्रै एमसीसीको व्याख्यात्मक टिप्पणी सम्झौताको अंश हुने वा नहुने भन्नेबारेमा एमसीसीका उपाध्यक्षसँग सिधा कुरा गर्ने बताएका थिए । बुटबलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले एमसीसी कार्यान्वयन हुने चरणमा पुगेको भएपनि व्याख्यात्मक टिप्पणी एमसीसीको अंश नहुने हो भने आन्दोलन गर्ने विषय उठाएका छन् ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन हुने बेलामा समेत माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा थिए । तर अन्ँितममा भने पक्षमै मतदान गरेका थिए । अहिले फेरी व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन भएको र त्यसैअनुसार काम हुनुपर्ने सरकारमै रहेका दलका नेताहरुले बताउन थालेका छन् ।
प्रधानमन्त्री दाहाललको टिप्पणी लगत्तै नेपालका लागि अमेरिकी राजदूतावासले भने व्याख्यात्मक घोषणासँग सहमत रहेको प्रतिक्रिया दिएको छ । वीवीसी नेपाली सेवासँगको कुराकानीका क्रममा दुतावासले भनेको छ,‘एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको थियो । हामी उक्त व्याख्यात्मक घोषणासँग सहमत छौँ र नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ भन्ने लगायत कम्प्याक्टका सर्तहरूसम्बन्धी हाम्रो बुझाइसँग उक्त व्याख्यात्मक घोषणासम्मत छ भन्ने हामीलाई लागेको छ।’
एमसीसी कार्यान्वयनकै चरणमा पुगेका बेला नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले भने आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेको छ । तरपनि एमसीसी भने कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।
प्रतिक्रिया