Logo

Breaking News 1

सुशासनमा सरकारले आज एक पाइला अगाडि सारेको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनमा सरकारले आइतबार एक पाइला अघि सारेको बताएका छन् । ललिता निवास जग्गा प्रकरणमा सरकारी वकिलले आइतबार अदालतमा मुद्दा पेस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनमा सरकारले एक पाइला अघि सारेको बताए ।

ललितपुरको भैंसेपाटीमा निर्माण भएका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवासीय कार्यालय हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री दाहालले यो सुशासन दिने प्रतिबद्धताअनुरुप सरकारकव पहिलो पाइला भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सबै दलहरूसँग समन्वय गरेर नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र विधिविधानमा चल्ने देशका रुपमा विश्वसामु चिनाउने आफ्नो चाहना रहेको बताए ।

आफ्नो ठाउँबाट सबैलाई समझदारी बनाएर अगाडि बढ्ने प्रयास गर्दै आएको उनको भनाइ थियो। ‘आजको दिन ललिता निवास प्रकरणको सबै अभियोजन सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको दिन पनि हो ।

यस हिसाबले आज सरकारले सुशासनमा एक पाइला अघि सारेको छ। मैले देशको कार्यकारी प्रमुखको हैसियतले नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र विधिविधानमा चल्ने देशको रुपमा विश्वसामु चिनाउन चाहेको छु, म त्यसका लागि सबैलाई आग्रह गर्छु,’ उनले भने । यस्तै प्रचण्डले भवनमा रहेर प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूले गर्ने सेवा प्रवाहले देशको संघीयता र त्यसको प्रभावलाई झल्काउने बताए।

‘यी भवन निर्माणको विषयमा प्रश्न उठ्न सक्छन् । तर प्रदेशहरूको स्थायित्व बढाउने हिसाबले यी भवनमा गरिएको लगानी अर्थपूर्ण छ । मैले संघीयता संस्थागत गर्ने बाटोमा पनि हामीले एक कदम अघि अगाडि बढाएको महसुस गरेको छु,’ प्रधानमन्त्री दाहालले भने।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ६ : ४५ बजे