Logo

मुख्य समाचार

पाकिस्तानमा १२ घन्टादेखि ‘तुइन’मा फसेका बालबालिकाको मध्यरातमा उद्धार



इस्लामबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्रमा मंगलबार ९ सय फिटको उचाइमा फसेका आठजनाको अबेर राति उद्धार गरिएको छ । पाकिस्तानी सेना र स्थानीयवासीले ठूलो साहस देखाएर सबैलाई बचाएका छन । पाकिस्तानी सेनाले अन्धकारका कारण हवाई उद्धार कार्य स्थगित गरी चेयर लिफ्टमा फसेका अरुको उद्धारका लागि स्थलगत अभियान सुरु गरेको थियो ।

खैबर पख्तुनख्वाको बट्टाग्राम जिल्लाको पहाडी क्षेत्रमा प्रतिकूल मौसमको बीचमा सूर्यास्त हुनुभन्दा केही समय अघि पाकिस्तानी सेनाको विशेष सेवा समूहले दुई बालबालिकालाई उद्धार गरेको हो । पाकिस्तानको सरकारी प्रसारक पीटीभी न्यूजले सेनालाई उद्धृत गर्दै रातको अन्धाकार र मौसमको कारणले हवाई अपरेशन स्थगित गरेको र वैकल्पिक माध्यम मार्फत उद्धार प्रयास सुरु गरेको जनाएको थियो ।

बट्टग्राम जिल्लाको अल्लाई तहसीलमा बिहान करिब ८ बजे बालबालिका विद्यालय जाँदै गर्दा उक्त घटना भएको हो । अल्लाई तहसीलका अध्यक्ष मुफ्ती गुलामुल्लाहलाई उद्धृत गर्दै पाकिस्तान मिडियाले भने कि यस क्षेत्रमा कुनै सडक वा पुल नभएकोले खोला पार गर्न स्थानीयहरूले निजी रूपमा सञ्चालन गरेको चेयरलिफ्ट व्यवस्था थियो ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार जियो न्यूजले जानकारी दियो कि बट्टग्राममा केबल बिग्रिएको कारण एउटा चेयरलिफ्ट सडकको बीचमा ९०० फिटको उचाइमा अड्कियो। घटनामा ६ बालबालिकासहित आठ जना फसेका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ८ : ३८ बजे