काठमाडौं । गत साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेको छ । अघिल्लो साता २०६६.०५ विन्दुमा बन्द भएको नेप्से, गत साता १.५९ प्रतिशत अर्थात ३२.९२ अंक घटेर २०३३.१३ विन्दुमा झरेको थियो ।
पाँच कारोबार दिनमध्ये तीन कारोबार दिन बजार नकारात्मक भइ बन्द भएपछि नेप्सेले सो बराबरको अंक गुमाएको हो। गत साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको हो ।
साताको अन्तिम कारोबार दिन नेप्सेले डोजी मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु अबका दिनमा बजार बढ्छ कि घट्छ भन्ने अन्योलता थपेको छ ।
यद्यपि, साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। जसले सो साता बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी भएको संकेत गर्छ ।
अहिले बजार ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। यस साता नेप्से परिसूचक उकालो लागेमा २०९० देखि २१२० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ ।
यद्यपि, उकालो लाग्नका लागि २०४५ को ब्रेकआउट विन्दु पार गर्नु पर्नेछ । त्यसैगरी, यस साता नेप्से ओरालो लागेमा भने १९६० देखि १९९० को क्षेत्रमा टेवा पाउने देखिन्छ ।
नेप्सेसँगै गत साता भोल्यूम पनि कमजोर देखिएको छ । गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ९ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १७३ प्रतिशत कम हो।
प्रतिक्रिया