काठमाडौं । ललिता निवास प्रकरणबारेको अनुसन्धानमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डाक्टर वावुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न सर्वोच्च्ले दिएको आदेशबारे सत्तारुढ गठबन्धनका नेताहरुले छलफल गरेका छन् ।
ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले ‘न्यायिक सक्रियता’ देखाएको भन्दै सत्तारुढ दलहरुले आन्तरिक छलफल गरेका हुन् । बैठकमा महान्यायाधिवक्ता दीनमणि पोखरेललाई बोलाएर सर्वोच्चको आदेशबारे कानूनी परामर्श समेत लिइएको बताइएको छ । गठबन्धनले ललिता निवास प्रकरणमा अदालतको फैसलासहितको विषयमा छलफल गर्न बुधबार बिहान पनि बैठक बोलाएको छ ।
सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा सीआईबीलाई नीतिगत निर्णय गर्ने व्यक्तिमाथि पनि अनुसन्धान गर्न निर्देशनात्मक आदेश दिएको थियो । अदालतको आदेशपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल युरोप भ्रमण छोट्याएर सोमबार बिहान स्वदेश फर्किएका छन् ।
असार २६ मा पक्राउ परेका तत्कालीन कर्मचारी योगराज पौडेलका तर्फबाट सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले निर्णय गर्नेहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो ।
प्रतिक्रिया