Logo

मुख्य समाचार

रोल्पा बस दुर्घटनामा ज्यान गुमाउने चारजनाको सनाखत


२३ श्रावण २०८०, मंगलबार  

46
Shares

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ रिचीमा आज मङ्गलवार भएको बस दुर्घटनामा चार जनाको निधन भएको छ। दुर्घटनामा ११ महिनाको शिशुसहित १५ जना घाइते भएका छन् ।

रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटना हुँदा माडी गाउँपालिका–४ का ५० वर्षका गोरख डाँगी, उहाँकी श्रीमती ४६ वर्षीया हस्ता डाँगी, माडी–२ का २२ वर्षका प्रकाश बाँठा र परिवर्तन गाउँपालिका–३ का ४५ वर्षका भक्तबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश भुसालले जानकारी दिए ।

शवलाई पोस्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा लगिएको छ भने घाइतेहरूको दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइते हुनेहरूमा धेरैजसो रोल्पाको माडी गाउँपालिकाका रहेका छन् ।

यस्तै सामान्य घाइतेसमेत रहेका दाङको घोराही उपमहानगरपालिका–१२ का २४ वर्षीय चालक हुमराज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा चालकको लापर्बाही देखिएकाले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए। बस तीव्र गतिका कारण अनियन्त्रित भई घुम्ती सडकबाट तल खसेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ७ : ५८ बजे