Logo

मुख्य समाचार

सिंहदरबार वरीपरीका कर्मचारीलाई दुर्गमका स्थानीय तहमा खटाउँदै मन्त्री मोदी, २२ जनाको भयो सरुवा


१६ श्रावण २०८०, मंगलबार  

0
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पहुँच र शक्तिको आडमा सिंहदरबार वरीपरीका कार्यालयमा मात्रै कार्यरत कर्मचारीलाई दुर्गमका स्थानीय तहमा खटाउन थालेका छन् ।

विद्यमान सरुवा प्रणालीको विकृति हटाउन लागिरहेका मन्त्री मोदीले सिंहदरबार वरीपरीका कार्यालयमा ३ वर्ष बढी समय बसेका कर्मचारीको सरुवा गर्दै दुर्गम क्षेत्रमा खटाउन थालेका हुन् ।

प्रशासनिक सुधारका क्षेत्रमा दर्जनौँ दूरगामी निर्णय गर्दै आएका मन्त्री मोदीले सरुवाको विद्यमान विकृति हटाउनका लागि आवश्यक सुझाव दिन भन्दै २०८० जेठ २९ गते सरुवा व्यवस्थापन कार्यदल गठन गरेका थिए । मन्त्री मोदीले सो कार्यदलले बुझाएको प्रतिवेदनमा समाविष्ट सुझाव कार्यान्वयन गर्न थालेका छन् ।

कार्यदलको सुझावअनुसार नै मन्त्री मोदीको निर्देशनमा मन्त्रालयले हालै मात्र दुर्गम क्षेत्रमा कार्यअवधि पूरा गरेकालाई सुगमको कार्यालय रोजेर र सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकालाई दुर्गम क्षेत्रको कार्यालय रोजेर निवेदन दिन आव्हान गरेको थियो ।

यससँगै मन्त्रालयले सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकाहरुलाई दुर्गम क्षेत्रमा खटाउन थालेको छ । जसअनुसार मन्त्रालयले बुधबार १४ जना उपसचिव र ८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गत्का कार्यलयमा कार्यरत उपसचिव खगेन्द्र सुवेदीको पाख्रिबास नगरपालिका धनकुटासहित अन्य जना उपसचिवको रौटहटका स्थानीय तहमा सरुवा भएको छ ।

त्यस्तै गृह मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत उपसचिव चोमेन्द्र न्यौपानेको मैलौली नगरपालिका बैतडीमा सरुवा भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत उपसचिव श्रीधर गौतमको शिखर नगरपालिका डोटीमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव सोमराज बरालको गोडैता नगरपालिका सर्लाहीमा सरुवा भएको छ ।

यस्तै सिंहदरबार वरीपरीका ८ जना शाखा अधिकृतको पनि दुर्गमका स्थानीय तहमा सरुवा भएको छ । गृह मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत शाखा अधिकृत सुशील कुमार भण्डारीको सिदिङ्वा गाउँपालिका, ताप्लेजुङसहित गृहकै अन्य ३ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत शाखा अधिकृत हरिजंग चन्दको जुनीचाँदे गाउँपालिका जाजरकोटसहित उद्योग मन्त्रालयका अन्य २ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ ।

मन्त्री मोदीले निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउनेदेखि मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्का समेत गरेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ९ : ४९ बजे