Logo

Breaking News 1

हामीले समितिको माग गरेका थियौं, सरकार सूचना टाँस गरेर स्थगित गर्नेतिर गयाे : एमाले


१६ श्रावण २०८०, मंगलबार  

92
Shares

काठमाडौं । सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को टकरावका कारण आज पनि प्रतिनिधि सभा बैठक बस्न सकेन।

दिउँसो १ बजेलाई बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित गरियो। सोमबार पनि बैठक सूचना टाँसेरै सारिएको थियो।

सुन प्रकरणमा सत्तारूढ दल र एमालेले आ-आफ्नो अडान राखिरहेका छन्। दुबैका अडानले बैठक बस्न नसक्ने देखिएपछि  मंगलबार सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति बोलाएका थिए। उक्त बैठकमा एमालेले आकस्मिक समयमा सबै दललाई आफ्ना कुरा राख्न दिने र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि बोल्न दिने बताएको थियो।

‘संसद्को आकस्मिक समयमा हामीले पनि आफ्ना कुरा राख्छौं, अरू दललाई पनि राख्न दिन्छौं। गृहमन्त्रीलाई पनि सदनसमक्ष आफ्ना कुरा राख्नुहोस् भनेका थियौं,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘गृहमन्त्रीले दिने जवाफको आधारमा हामी निर्णय लिन्छौं भनेका थियौं। उहाँहरूले छानबिन समितिमा तदारूकता पनि देखाउनु भएको थिएन।’

सभामुख घिमिरेलाई निर्णयको जिम्मा दिएर एमाले बाहिरिएपछि सूचना टाँस गरेर बैठक स्थगित गरेको थाहा पाएको नेम्वाङले बताए।

‘हामीले त समितिको माग गरेका थियौं, उहाँहरू सूचना टाँस गरेर स्थगित गर्ने दिशातिर जानुभयो,’ नेम्वाङले भने।

सभामुख घिमिरेको सचिवालयले भने सत्ता पक्ष र विपक्ष आ-आफ्नो अडानमा यथावत् रहेकाले सहमतिमा पुग्न समय दिएको बतायो।

‘कार्यव्यवस्थाको बैठकमा प्रमुख प्रतिपक्षले सुन काण्डमा उच्चस्तरीय जाँचबुझ समितिको माग गरेको थियो। तर, सत्ता पक्षले राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गरिरहेको र पक्राउ परिरहेकाले अलग्गै संयन्त्र बनाएर छानबिन गर्नु नपर्ने बताइरहेको थियो। दुबै पक्षबीच कुरा नमिलेकाले सदन चल्ने अवस्था देखिएन,’ सभामुखको सचिवालयले भन्यो।

प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गतेका लागि बोलाइएको छ। दुबै पक्ष सहमत भएर निकास ननिस्किए सम्म सदन चल्ने अवस्था नदेखिएकाले  बैठक स्थगनको सूचना टाँस्नु परेको सभामुखको सचिवालयको भनाइ छ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ४ : १५ बजे