Logo

समाचार

लागुऔषधसहित १८ जना पक्राउ


१२ श्रावण २०८०, शुक्रबार  

92
Shares

काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ परेका छन् । मोरङकाे रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ९० मिलिग्रामसहित भारत अररिया मज्ररक पञ्चायत-१ बौकामज्रक बस्ने ७० वर्षीय भल्लु पासवानलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

दाङकाे घोराही उपमहानगरपालिका-१४ तिनकुने चोक सिर्जनशील टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१४ घर भएका अर्जुन पुनसमेत तीनजनालाई अवैध लागूऔषध गाँजा ५ किलो १ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले पुनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कञ्चनपुरकाे भिमदत्त नगरपालिका-११ होल्डिङ सेन्टरबाट अवैध लागुऔषध खैरो हेरोइन २ ग्राम ९३ मिलिग्राम र चरेश २८ मिलिग्रामसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-७ बस्ने २१ वर्षीय भरत बम, सोही ठाउँ बस्ने ३३ वर्षीय बिशाल गुरुङ, भिमदत्त नगरपालिका-१२ बस्ने १८ वर्षीया किशोरी र डडेलधुरा पर्शुराम नगरपालिका-१२ जोगबुढा बस्ने ३१ वर्षीय लक्ष्मण कामी रहेका छन् । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा ३ किलो ५ सय ग्रामसहित बारा निजगढ नगरपालिका-१ पटिहारी बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङको प्रहरीले बा.प्र०३-००१ ख २७६२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बाँकेकाे  नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित कोहलपुर नगरपालिका-१४ हवल्दारपुर बस्ने २७ वर्षीय शैलेन्द्र कुमार गुभाजुलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरीकाे धरान उपमहानगरपालिका-८ सभागृह मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय साजन बिश्वकर्मा समेत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

कैलालीकाे गोदावरी नगरपालिका-८ स्याउले बजारमा चम्फा ट्याक्टरको पार्टपुर्जाको पसल गरी बस्ने धनगढी उपमहानगरपालिका-५ हसनपुर घर भएका ३२ वर्षीय शरद चौधरी र सोही बजारमा फेन्सी स्टोर पसल गरी बस्ने ३२ वर्षीय मधुसुदन पन्तलाई अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले चौधरीलाई ६ ग्राम ७ सय ९० मिलिग्राम र पन्तलाई २ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-५ सत्कार चोकबाट सोही उपमहानगरपालिका-४ बस्ने ३५ वर्षीय भरत चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय ९० मिलिग्रामसहित जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

सिरहाकाे औरही गाउँपालिका-५ दश गजाबाट अवैध लागूऔषध गाँजा करिब १२ किलो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी औरहीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको एक जना अपरिचित व्यक्तिले झोला फाली फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त गाँजा फेला पारेको हो ।

 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  २ : २० बजे