Logo

समाचार

आफ्नै सांसदले उठाएको सेना कटौतीको विषयलाई शंकर पोखरेलले भने दुखद



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली सेनाको संख्या र भूमिका कटौतिका बारेमा बहस हुनु दुःखद भएको टिप्पणी गरेका छन् ।

नेपाली राजनीति अस्थिरताको शिकार भएको, सामाजिक अराजकताका कारणले राज्य कमजोर बनेको अवस्थामा नेपाली सेनाको भूमिका र संख्या कटौतिका बारेमा बहस हुनु दुःखद पक्ष हो,’ पोखरेलले फेसबुकमा लेखेका छन्, ‘नेपाली सेनाको संख्या राष्ट्रको सुरक्षासँग मात्र होइन अन्तर्राष्ट्रिय शान्ति मिसनसँग पनि जोडिएको विषय हो । त्यसमाथि नेपाल सरकारले नेपाली सेनालाई आन्तरिक सुरक्षाका साथै विकास र विपदाको समयमा समेत प्रभावकारी रूपमा परिचालन गर्ने गरेको छ ।’

यद्यपि, अन्य संस्थासँगै सेनामा पनि समयानुकुल सुधार भने हुनुपर्ने पोखरेलको भनाइ छ । त्यसले व्यावसायिक दक्षतामा अभिवृद्धि गर्नुपर्ने पोखरेलले बताएका छन् ।

तर मुलुकलाई राजनीतिक अस्थिरता र सामाजिक अराजकताको दुश्चक्रमा पारेर सार्वभौमसत्तालाई नै आघात पुर्‍याउने कुप्रयास भइरहेका बेलामा नेपाली सेनाको भूमिका र यसको औचित्यका बारेमा अनावश्यक रूपमा बहस हुनु दुःखद पक्ष हो ।’

पोखरेलले यस्तो टिप्पणी गरेको भएपनि एमालेकै सांसद विमला राई पौडेलले सबैभन्दा पहिला सेनाको संख्या कटौतीका बारेमा धारणा राखेकी थिइन् ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १० : ११ बजे