काठमाडौं । आफुलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक भारत गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तीपछि राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको एमालेले अन्तिममा स्पष्टिकरण दिएपनि चित्त बुझाउन सहमत बनेको थियो ।
एमालेको अवरोधबारे छलफल गर्न आइतबार सिंहदबारमा बसेको प्रमुख तीन राजनीतिक दलका शिर्ष नेताहरुका बिचमा भएको छलफलपछि अध्यक्ष केपी शर्मा ओली संसदको अवरोध हटाउन तयार भए । तर त्यसका लागि प्रधानमन्त्री दाहालले संसदमा आफ्नो अभिव्यक्तीबारे स्पष्टिकरण दिने सहमति जुटेको थियो ।
सिंहदरबारमा सहमति गरेर संसद भवन आउने बेलासम्म भने अध्यक्ष ओली सहमतिबाट पछि हट्दै राजीनामा नदिएसम्म संसद चल्न नदिने पुरानै अडानमा फर्किए । त्यसको कारणका रुपमा भने प्रधानमन्त्रीको सचिवालयले जारी गरेको असार २१ गतेको विज्ञप्तीलाई एमालेले लिएको बताइएको छ ।
प्रधानमन्त्रीको सचिवालयले असार २१ गते जारी गरेको विज्ञप्तीमा भ्रष्टाचारको फाइल खोल्ने सरकारको निर्णयपछि एमालेका नेताहरु समेत पर्नसक्ने चिन्ताका कारण एमालेले संसद अवरुद्ध गरेको आशय व्यक्त गरिएको थियो । हुनपनि पछिल्लो समय खुलेको ललिता निवास प्रकरणमा एमाले उपाध्यक्ष विष्णु पौडेल प्रत्यक्ष रुपमा जोडिएका छन् । ललिता निवासमा जग्गा किनेको आरोपमा पक्राउ परेका भाटभटेनीका मालिक मीनबहादुर गुरुङ हिरासतमा छन् । तर पौडेलले भने जग्गा फिर्ता गरेको भन्दै अनुसन्धान प्रक्रियामा तानिएकासम्म छैनन् ।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी पूर्पक्षका लागि थुनामा छन् । त्यही प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा फरार छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेमाथि प्रहार गर्न खोजिएको भन्दै अध्यक्ष ओलीले सार्वजनिक रुपमा सरकारको आलोचना समेत गरेका थिए ।
त्यसयता पशुपतिनाथको जलहरी काण्डमा समेत अध्यक्ष ओलीको नाम जोडिएको थियो । यसरी एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्ने तयारीमा सरकार रहेकै बेला एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको थियो । त्यसोत प्रचण्डले बोल्नै नहुने शब्द बोलेको भन्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मादेखि रास्वपा सभापति रवि लामिछानेसम्मले आलोचना गरेका छन् । तर एमालेबाहेकका दलले राजीनामा भने मागेका छैनन् ।
प्रतिक्रिया