काठमाडौँ । ललिता निवास प्रकरणमा सरकारी लिखत कीर्ते गरेको आरोपमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङको बचाउमा निजी क्षेत्रका तीनवटै संगठन उत्रिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै गुरूङको बचाउ गरेका हुन् ।
‘कानुनविपरीत काम गरेको प्रमाणित भएमा जो कोही पनि कारबाहीको भागीदार हुनुपर्छ र कारबाही गरिनुपर्छ, तर कुनै पनि विषयमा आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्नु हुँदैन,’ विज्ञप्तिमा भनिएको छ ।
बालुवाटारको ललिता निवासको जग्गा सरकारबाट फिर्ता गराएर व्यक्तिको नाममा नामसारी गर्न सहयोग गर्दै कीर्ते गरेको आरोपमा गुरुङमाथि छानबिन जारी छ ।
प्रतिक्रिया