Logo

समाचार

बालेनसँग गृहमन्त्री श्रेष्ठको लञ्च मिटिङ, माओवादीकै युवा नेताले दिए सुझाव



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेट भएको छ । उपप्रधानमन्त्री श्रेष्ठका अनुसार शनिबार खानासहितको छलफल भएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले मेयर शाहसँग देश र जनताका मुद्दाहरूमा छलफल भएको बताएका छन् । उनले ट्वीट गरेका छन्, ‘हिजो काठमाडौं महानगरपालिकाका प्रमुख वालेन शाहसँग साथै खाना खाँदै देश र जनताका मुद्दाहरूमा महत्वपूर्ण छलफल भयो । उहाँको टीमका केही प्रतिभाशाली साथीहरू पनि सहभागी हुनुहुन्थ्यो । छलफललाई निरन्तरता दिने समझदारी बनेको छ । देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने हाम्रो समान सोच रह्यो ।’

यता माओवादी केन्द्रकै युवा नेता रामप्रसाद सापकोटा दीपशिखाले भने पार्टीभित्रै बालेनजस्ता युवाहरु रहेको भन्दै तिनलाई स्थापित गर्न सुझाव दिएका छन् । उनले नारायणकाजीलाई बाबुरामलाई जस्तै आफूबाहेक माओवादी केही होइन भन्ने नलागोस भन्ने चेतावनी दिएका छन् ।

उनले लेखेका छन्,‘राम्रो काम गरेर वाहावाही हुनुभएको छ । बाबुरामलाई जस्तै आफु बाहेक माओवादी केहि होईन भन्ने नलागोस् । पार्टी पनि सॅगसॅगै बनाउन लाग्नुहोस् । शुभकामना । बालेनहरू पार्टीभित्रै र बाहिर पनि छन् । तिनलाई बालेनका रूपमा स्थापित गर्नुहोस । बालेनसॅग खाना खानुभएछ खुशि लाग्यो, पार्टीभित्रका युवाहरूसॅग बसेर कहिलेकॅहि कालो चिया खानुहोस् । युवाहरू खुश हुन्छन् ।’

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ९ : ४० बजे