काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफुलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंहले पटकपटक दिल्ली समेत पुगेर लविङ गरेको अभिव्यक्ती दिएपछि संसद बैठक नै प्रभावित बन्यो । सोमबार एक कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो धारणा सार्वजनिक गरेको भएपनि मंगलबारको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक प्रमुख प्रतिपक्षी दल एमालेसहित अन्य विपक्षी दलले समेत अवरोध गरे ।
प्रतिनिधिसभाको बैठक शुरु हुनासाथै एमालेले उठेर विरोध गरेपछि बोल्नका लागि समय पाएका सांसद रघुजी पन्तले संसद् बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै राजीनामा नआएसम्म संसद अगाडि बढ्न नसक्ने भनेपछि रास्वपा, राप्रपा लगायत दलका सांसदहरू पनि सिटबाट उठेर विरोध जनाएका थिए ।
संसद बैठक अवरुद्ध भएपछि आफ्ना कुरा राख्न नपाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रधानमन्त्रीको राजीनामा नमागेको स्पष्ट पारेको छ । सांसद मनिष झाले प्रधानमन्त्री दाहालको अभिव्यक्ति संसद, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्नेगरी आएको भन्दै यसप्रति रास्वपाको प्रश्नहरु रहेको र त्यसकै जवाफका लागि संसद बैठकमा उठेको स्पष्ट पारे ।
यता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने संसदमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा नै मागेको बताएका छन् । संसद बैठकपछि उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अस्वभनिय र आपत्तीजनक रहेको बताउँदै भने,‘हामीलाई प्रधानमन्त्रीको जवाफ होइन, अब राजीनामा चाहिएको छ ।’
यता कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समेत प्रधानमन्त्री दाहालको आलोचना गरेका छन् । उनले भनेका छन्,‘प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, म सत्तापक्षको एउटा सांसद भएपनि त्यसमा समर्थन जनाउनुपर्छ भन्ने हुँदैन । उहाँले दिएको अभिव्यक्ति आलोचनाका लागि योग्य छ । उहाँले गलत बोल्नुभएको छ । त्यसमा मेरो प्रष्ट रुपमा विमति नै छ ।’
यता नेकपा माओवादी केन्द्रका नेता समेत रहेका ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिपक्ष दलले प्रधानमन्त्रीको अभिव्यक्तीको आशय नसोधि राजीनामा माग्नु संसदीय प्रक्रिया विपरित भएको बताएका छन् ।
दाहालकै अभिव्यक्तीले संसद अवरोध भएपछि मिटर व्याजसम्बन्धी सरकारले जारी गरेको अध्यादेश निश्क्रिय भएको छ । भने प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक समेत बिहिबारसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया