Logo

मुख्य समाचार

उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कँदै



काठमाडौं । जनवादी चीनको पाँचदिने भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किदैँ छन्। भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता गरेका थिए ।

भेटवार्ताका क्रममा उनीहरूबीच दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउनेबारेमा विचार–विमर्श भएको थियो । थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकाहरूमा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरे। सम्बोधनका क्रममा उनले नेपाल सरकारले लगानी प्रणालीमा उल्लेख्य सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएको जनाउँदै नेपालमा लगानी गर्न आग्रह गरे ।

भ्रमणका दौरान उनले सिचुवान विश्वविद्यालयमा आयोजित कार्यक्रममा नेपाल–चीन सम्बन्धका बारेमा सम्बोधन मन्तव्य दिएका थिए । उनी सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार चीन गएका थिए ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ६ : ५८ बजे