Logo

Breaking News 1

सरकारको पक्षमा मत कम हुँदै, बजेट बहुमतले पारित



काठमाडौ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै सरकारमाथि संसदको विश्वास घटेको बताएका छन् ।

‘सरकारको विश्वास ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्यो ।’ संसद परिसरमा अध्यक्ष ओलीले भने । अध्यक्ष ओलीले भनेजस्तै प्रधानमन्त्री दाहालका पक्षमा संसदको मत क्रमशः घट्दै गएको देखिएको छ ।

पुस १० मा प्रधानमन्त्री नियुक्त हुँदा प्रधानमन्त्री दाहालसँग अहिलेका प्रतिपक्षी दलहरुको समेत समर्थन थियो । पुस २६ मा पहिलो पटक संसदमा विश्वासको मत लिदा दाहालले संसदमा असाधारण मत पाएका थिए ।

त्यसबेला दाहाललाई नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा बाहेक सवै दलले विश्वासको मत दिएका थिए । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा उपस्थित २७० जनामध्ये विश्वासको मतको पक्षमा २ सय ६८ मत परेको थियो ।

दोस्रोपटक दाहालले चैत ६गते विश्वासको मत लिएका थिए । जुनबेला १ सय ७२ सांसदको मत पाएका थिए । विपक्षमा ८९ मत परेको थियो । त्यसपछि नेपालको संसदीय इतिहासमा पहिलो पटक बजेटमा विपक्षी दलले गोप्य मतदान माग गरेपछि मतदान भयो ।

एमालेको मागपछि बुधबार विनियोजन विधेयकका बारेमा भएको मतदानमा सरकारको पक्षमा १४७ मत खसेको छ । सरकारको पक्षमा कांग्रेसका ८८, माओवादीका ३२, जसपाका १२ र नेकपा एकीकृत समाजवादीका १० सांसदको समर्थन जोड्दा १४२ सीट पुग्छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ९ : १३ बजे