काठमाडौं । आर्थिक वर्ष सकिनै लाग्दा चालू आर्थिक वर्षको अन्तिम महिनाको मध्यसम्ममा करिब ६८ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार ११ गतेसम्म कूल बजेटको ६७ दशमलव ६४ प्रतिशत रकम मात्रै खर्च भएको हो । कार्यालयका अनुसार असार ११ गतेसम्म १२ खर्ब १३ अर्ब हाराहारीमा मात्रै खर्च हुन सकेको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालूतर्फ ९ खर्ब रकम खर्च भएको भएपनि विकास बजेट भने १ खर्ब ६० अर्ब मात्रै खर्च हुन सकेको छ । सरकारले चालू आर्थिक वर्षका लागि १७ खर्बको बजेट प्रस्तुत गरेको थियो ।
यता लक्ष्यको करिब ६० प्रतिशत मात्रै राजश्व संकलन हुन सकेको छ । असार ११ गतेसम्ममा सरकारले ८ खर्ब बढि राजश्व संकलन गर्न सकेको छ । जबकि सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब बढि राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
कार्यालयका अनुसार चालू आर्थिक वर्षमा ५५ अर्ब वैदेशिक अनुदान ल्याउने लक्ष्य लिएको सरकारले आर्थिक वर्ष सकिनै लाग्ने बेलासम्म लक्ष्यको साढे ८ प्रतिशत अर्थात् झण्डै ५ अर्ब रुपैया मात्रै वैदेशिक अनुदान नेपाल आएको छ ।
यता चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गरेको छ ।
प्रतिक्रिया