Logo

Breaking News 1

माधव नेपालले भनेजस्तै कांग्रेस–एमाले गठबन्धन बन्न सम्भव छ ?



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका बेला नेपालमा भने कांग्रेस एमाले मिलेर सरकार गठन हुने चर्चा शुरु भएको छ ।

सरकारले संसदमा पेश गरेको बजेट पारित गर्न सत्तारुढ दलले नै असहयोग गर्ने बताइरहेका बेला कांग्रेस एमाले सरकार गठन हुने चर्चा शुरु भएको हो । तर यसबारेमा कांग्रेसले भने आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

कांग्रेस महामन्त्री गगन थापाले भने नेपालमा गठबन्धन बन्न र भत्किनका लागि कुनै कारण आवश्यक नहुने अबस्था देखिएका कारण अर्को गठबन्धन बन्नै नसक्ने अबस्था नरहेको बताउने गरेका छन् । तर सरकारमै रहेको दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने सार्वजनिक रुपमै कांग्रेस एमाले गठबन्धन बन्नसक्ने संकेत गरेका छन् ।

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार ढालेर कांग्रेससँग सरकार बनाउने तयारी गरिरहेको दाबी गरेका छन् । ‘केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेका छन् । कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन् । उसलाई अघि बढाउन खोजिरहेका छन्,’ नेपालले भने ।

अध्यक्ष नेपालले सार्वजनिक रुपमा कांग्रेस एमाले गठबन्धन बन्नसक्ने संकेत गरेको भएपनि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले भने अहिलेको सरकार ढाल्न एमालेले कुनैपनि भूमिका नखेल्ने बताएका छन् । उनले अहिलेको सरकार आफ्नै कारणले ढल्ने दाबी समेत गरेका छन् ।

त्यसोत कांग्रेस एमाले गठबन्धन बनाउने विषयमा शिर्ष तहमा कुनै छलफल नभएको भएपनि दुबै पार्टीका दोस्रो तहका नेताहरु भने छलफल रहेको बुझ्न कठिन छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचकका रुपमा रहेका कांग्रेस महामन्त्री गगन थापले केहीदिन अघि ओलीसँग भेटवार्ता गरेका थिए । तर भेटवार्तामा के विषयमा छलफल भयो भन्ने चाँहि सार्वजनिक भएको छैन ।

कांग्रेसलाई दबाबमा राख्न सरकारमै रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले गठन गरेको समाजवादी मोर्चाले भने राजनीतिक माहौल तातिएको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ९ : ११ बजे