काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको आजको खेलमा नेपालले वेष्ट इण्डिजसँग फराकिलो हार व्यहोरेको छ ।
दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट्र वेष्ट इण्डिजसँग नेपाल १०१ रनले पराजित भएको हो । जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव ४ ओभरमा २३८ रनमा अल आउट भएको हो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ६८ न बनाए भने गुल्सन झा ४२ रन बनाएर आउट भए । ओपनर कुशल भुर्तेल ५ रन, भीम सार्की २ रनमा आउट भए । कुशल मल्ले २८ रन बनाए भने कप्तान रोहित पौडेलले ३० रन जोडे ।
दिपेन्द्र सिंह ऐरी २३ रनमा आउट भए भने करण केसीले १ छक्का र ४ चौकासहित नट आउट २८ रन बनाए ।
त्यसअघि, वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनाउँदा दुई ब्याटरले शतकीय पारी खेले । वेष्ट इण्डिजका कप्तान साइ होप र निकोलस पुरनले शतकीय पारी खेल्दै चौथो विकेटका लागि २१६ रनको साझेदारी गरे ।
प्रतियोगिताको समूह ए मा रहेको नेपालले यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।
प्रतिक्रिया