काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोमा पूर्वी पहाडका ४ जिल्लामा चार जनाको मृत्यु भएको छ । शनिबार रातीदेखि परेको वर्षापछि आएको बाढी पहिरोमा परेर २८ जना बेपत्ता भएका छन् । बाढी र पहिरोले ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा १÷१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सङ्खुवासभामा बाढीले बगाएर १ जनाको मृत्यु भएको छ । अन्य तीन जनाको पहिरोले पुरिएर मृत्यु भएको हो ।
बाढी पहिरोको कारण २८ जना बेपत्ता भएका छन् । जसमा २५ जना पुरूष र ३ जना महिला छन् । चार जना घाइतेको उद्धार भएको छ । जसमा २ महिला र २ पुरुष छन् ।
्
प्रहरीका अनुसार सबैभन्दा धेरै सङ्खुवासभामा मात्रै २० जना बेपत्ता छन् । बाढी पहिरोले पाँचथरको १२ वटा पुलमा क्षति गरेको छ । यस्तै १३ सडक अवरुद्ध भएका छन् ।
संखुवासभाको हेवाखोलामा राति आएको बाढीले सात घर बगाएको छ । बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १५ मजदुर सम्पर्कबिहीन भएका छन् । १८ जना मजदुरमध्ये ३ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ । जिल्लाको मकालु गाउँपालिकामा चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
पाँचथरमा पाँच जना बेपत्ता छन् । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् ।
प्रतिक्रिया