Logo

कर्पोरेट

लक्ष्मी बैंकको आज विशेष साधारणसभा



काठमाडौं  । लक्ष्मी बैंकको आज असार ३ गते आइतबार विशेष साधारण सभा बस्दैछ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यसका लागि बैंकले जेठ २६ गते बुक क्लोज गरिसकेको छ । लक्ष्मी बैंकले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा बोलाएको हो। दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपश्चात लक्ष्मी सनराइज बैंकको नाममा एकीकृत कारोबार हुनेछ ।

विशेष साधारण सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ । मर्जर प्रयोजनका लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात र अन्तिम सम्झौतापत्र पारित गर्नेछ ।

मर्जरपश्चात बैंकको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी बैंकका अजयबिक्रम शाह हुने समझदारी भएको छ । अहिले लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । १००% को स्वाप अनुपात मर्जर हुँदा बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ८ : ५६ बजे