Logo

अर्थ

कोशी प्रदेश सरकारले ल्यायो अध्यादेशमार्फत् ३६ अर्बको बजेट



काठमाडों । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको हो ।

अल्पमतमा रहेको सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत् बजेट सार्वजनिक गरेका हुन् । बजेटमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

१ करोड वित्तीय व्यवस्थाका लागि र ३ अर्ब ६० करोड २९ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट ७३ करोड, विशेष अनुदानबाट ७६ करोड गरी ३२ अर्ब ३४ करोड २९ लाख ५० हजार रुपैयाँ जुटाउने लक्ष्य लिइएको छ ।

बाँकी रकम चालु आर्थिक वर्षको नगद मौज्दात ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रुपैयाँ जुटाइने लक्ष्य राखिएको छ ।

प्रत्यक्ष निर्वाचन जितेका प्रदेशसभा सदस्यले २ करोड रुपैयाँ र समानुपातिक पद्धतिबाट निर्वाचित प्रदेशसभा सदस्यले १ करोड रुपैयाँको योजना छनोट गर्न पाउने व्यवस्था समेत बजेटमा समेटिएको छ ।

प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी योजनाका लागि चार करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १० : २८ बजे